विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन्। सिहंदरबारमा रहेको सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले निर्देशन दिएका हुन् ।

बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राखेका थिए। सभामुख घिमिरेले विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।

  • ६ कार्तिक २०८१, मंगलवार १५:२८ प्रकाशित