राइफलका दुई थान गोली र लागूऔषधसहित २३ वर्षीय युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले राइफलका दुई राउण्ड गोली तथा लागूऔषधसहित पोखरा–३, नदीपुरबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार २१ असोजको साँझ करिब ५ः३० बजे नदीपुर क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–३ नदीपुरमा बस्दै आएका २३ वर्षीय रविनबहादुर नेपालीको घरकोठामा खानतलासी गरेको थियो ।

सो क्रममा खानतलासीका क्रममा एसएलआर राइफलको एक राउण्ड, ३०३ राइफलको एक राउण्ड गोली, गाँजा १ किलो ५० ग्राम र टापेन्टाडोलका ४० चक्की बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, उनको साथबाट ४३ हजार ४२० रुपैयाँ नगद र एउटा मोबाइल फोन समेत बरामद भएको छ ।

स्थायी ठेगाना पोखरा–१८ सराङकोट भएका नेपालीलाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता पासवानले जानकारी दिए ।

  • २२ आश्विन २०८३, बिहीबार १९:३२ प्रकाशित