गण्डकीसहित यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत छ । जसका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने बताएको छ ।

साथै महाशाखाले कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिइ आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • २३ आश्विन २०८३, शुक्रबार ०७:५३ प्रकाशित