दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा प्रम ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने तयारी गरेका हुन् ।

आइतबार राति अबेरसम्म भएको छलफलमा ओलीले विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने विषयमा देउवाको साथ खोजेका थिए । तर, ओलीको प्रस्तावमा देउवा मौन रहेको जनाइएको छ ।

उक्त बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल, अर्थमन्त्री समेत रहेका विष्णु पौडेल लगायत शीर्ष नेताहरूसमेत सहभागी थिए । यस्तै कांग्रेसबाट सभापति देउवासहित गृहमन्त्री समेत रहेका रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू सहभागी थिए । एमालेको सचिवालय बैठकबाट ओलीले अध्यादेश ल्याउनका लागि म्यान्डेट पाएसँगै देउवासँग छलफल गरेको बताइएको छ ।

‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्री ओली र देउवाजीबिच छलफल भएको हो । ओलीले निकटस्थसँग सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने बताएका छन् । ओलीले २० प्रतिशत केन्द्रीय समिति सदस्य वा संसदीय दलको सदस्य सङ्ख्या पुगेमा दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउन ड्राफ्ट तयार गरेको बुझिएको छ ।

  • ५ कार्तिक २०८१, सोमबार १५:२४ प्रकाशित