काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताएका छन् ।
सत्तारुढ गठबन्धनभित्रै एमसीसीबारे मतभेद देखिएपछि प्रम शेरबहादुर देउवाले एमालेसँग हारगुहार गरेका छन् । तर एमालेले पनि शर्त राखेपछि एमसीसी पास हुनेमा सकस देखिएको छ । ओलीलाई फकाउन असफल भएपछि देउवाले आज गृहमन्त्री खाणलाई सहमति जुटाउन ओलीकहाँ पठाएका हुन् । यसैबीचमा ओलीले एमसीसीमा एमालेको धारणा स्पष्ट रहेको बताएका हुन् ।
‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’
प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।