आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’ अभियानअन्तर्गत चितवनमा अन्तरक्रिया

केन्द्रभाग मिडिया

 

चितवन ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’  अभियान अन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता  थियो।

कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले पोखरामा अथाह पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै कालिका नगरपालिकाले कृषि पर्यटनलाई प्राथमिकता दिएको बताए ।

उनले नगरपालिकामा देशकै धेरै मह उत्पादन हुने जानकारी दिँदै सन्ध्याकालीन जिप सफारी सञ्चालनको तयारी भइरहेको बताए। एक पर्यटकीय गन्तव्यमा पुगेका पर्यटकलाई अन्य गन्तव्यबारे पनि जानकारी दिने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने ले पोखरा, चितवन र लुम्बिनीलाई जोड्ने ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामार्फत प्रमुख पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रवर्द्धन गरिने बताए । उनका अनुसार यस अवधारणाले पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

होटल सङ्घका केन्द्रीय सदस्य सुमन घिमिरे ले ‘जाऔँ है पोखरा’ अभियानबाट प्रेरित भएर चितवनमा ‘घुमौँ चितवन’ अभियान सञ्चालन गरिएको जानकारी दिए । आगामी दिनमा यस्ता कार्यक्रमलाई संयुक्त रूपमा निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

पर्यटन विज्ञ डा. विश्व सुवेदी ले पोखराका पर्यटन व्यवसायीहरूले संयुक्त रूपमा सञ्चालन गरेका पर्यटन प्रवर्द्धन कार्यक्रमहरू अन्य क्षेत्रका व्यवसायीका लागि पनि अनुकरणीय रहेको बताए । उनले पर्यटन प्याकेज विकास तथा सामूहिक प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए ।

रत्ननगर नगरपालिका वडा नम्बर सातका वडा सदस्य
सूर्यबहादुर तामाङले पोखराबिनाको नेपाली पर्यटनको कल्पना गर्न नसकिने धारणा व्यक्त गरे ।

तानपोखराका अध्यक्ष कृष्ण आचार्यले पोखरा तीनवटा प्रमुख हिमालका बेसक्याम्पहरूको प्रवेशद्वार भएको उल्लेख गर्दै प्रत्येक पर्यटकीय गन्तव्यको आफ्नै विशेषता र पहिचान हुने भएकाले सोहीअनुसार प्रवर्द्धन गर्नुपर्ने बताए ।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवाल ले विश्वका विभिन्न सहरको भ्रमण गर्दा पनि आफूलाई पोखरा नै सबैभन्दा आकर्षक लागेको अनुभव सुनाए ।

कार्यक्रममा धन्यवाद दिँदै क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रसाद पाण्डेले चितवन नेसनल पार्कमा टिकटको मूल्य बढाएरै भएपनि पर्यटकको इच्छा अनुरूप थप समय अवलोकनको अवसर दिनुपर्ने बताए ‘

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विगत २५ वर्षदेखि सञ्चालन भैराखेको यो अभियान यसपाली चितवन, लुम्बिनी र पाल्पा लगाएतका स्थानमा पुगेर प्रवर्धनात्मक कार्यक्रम सहित सम्पन्न गरिने जानकारी दिए ।

अभियानमा पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहभागी छन् । अभियानका क्रममा व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिने छ ।

पोखराको होटेल क्षेत्रमा मात्रै ६ खर्ब भन्दा बढीको लगानी रहेको अध्यक्ष सुवेदीले बताउँछन् । उनका अनुसार एक हजार २०० भन्दा धेरै सङ्ख्यामा होटेल रहेको जानकारी दिए ।

छोटल संघ पोखराका सचिव पार्वती पाण्डेले कार्यक्रम सञ्चालन गर्दै पोखरामा सञ्चालित होटेलमा करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका जानकारी दिइन ।

 

 

  • ६ असार २०८३, शनिबार १६:०६ प्रकाशित