निर्वाचनमा सुरक्षा चुनौती नरहेको प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् ।

मंगलबार बालुवाटारमा भएको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । सुरक्षा प्रमुखहरुले मंगलबार पानी परेका कारण उच्च हिमाली जिल्लामा हिउँ पर्नसक्ने र त्यसबाट व्यवस्थापनमा असर पर्नसक्ने ब्रिफिङ गरेका छन् ।

सुरक्षा निकायका प्रमुखहरूले एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा रणनीति अघि बढेको उल्लेख गर्दै निर्वाचन बिथोल्ने खालका चुनौती नरहेको निष्कर्ष प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

बैठकले चुनावअघि मौसम सफा हुने निष्कर्ष निकाल्दै चिसोका कारण उच्च हिमाली क्षेत्रमा असर नपर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, आईजीपी दान बहादुर कार्की सशस्त्रका आईजी राजु अर्याल र मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की उपस्थित थिए ।

प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिएकी छन् । सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको निगरानी गर्न निर्देशन दिएकी हुन् ।

  • १३ फाल्गुन २०८२, बुधबार १२:२६ प्रकाशित