काठमाडौं ।
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ।
देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्तिमार्फत यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन आपसी सद्भाव अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले चियापान समारोह आयोजना गरेका थिए।
त्यसयता केही वर्ष विशेष कारणले कार्यक्रम आयोजना हुन नसके पनि कांग्रेसले प्रायः हरेक वर्ष उक्त परम्परालाई निरन्तरता दिँदै आएको छ।
तर, यस वर्ष देशले प्राकृतिक विपत्तिका कारण ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको भन्दै कांग्रेसले चियापान समारोह नगर्ने जनाएको छ। विज्ञप्तिमा भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै हजारौँ व्यक्ति बेपत्ता रहेको र बूढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्याएको उल्लेख गरिएको छ।
यस्तो दुःखद परिस्थितिमा चियापान समारोह आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
यसैबिच पार्टी सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त, संयमित र सादगीपूर्ण रूपमा परिवारभित्र सीमित रहेर मनाउन आग्रह गरेका छन्।
कांग्रेसले विपत्तिबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै वर्तमान परिस्थितिमा सबैलाई संयमित र जिम्मेवार व्यवहार अपनाउनसमेत आग्रह गरेको छ।












