काठमाडौं ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज मध्याह्न १२ः३० बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच तथा अपराह्न ५ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ ।
छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।
उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।













