तेस्रो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो पहिलो जित दर्ता गरेको छ । सोमबारको पहिलो खेल तथा आफ्नो पाँचौँ खेलमामा पोखराले कर्णालीलाई ६३ रनले हराउँदै अंक तालिकामा २ अंक जोड्न सफल भएको हो ।

कर्णालीलाई हराए पनि पोखरा दुई अंकसहित तालिकाको पुछारमा यथावत छ । सुरुवाती चार खेलमा लगातार हार भोगेको थियो । पोखरासँग पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । सुरुवाती दुई खेलमा जित निकालेको कर्णालीले लगातार तेस्रो खेलमा हार भोगेको हो । कर्णालीलाई अबको दुई खेलमा जित निकालेर मात्र पुग्दैन नेट रन रेटले पनि फरक पर्नेछ ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । अरिफुल इस्लामले २४, दिपक डुम्रेले २२ र कप्तान सोमपाल कामीले २१ रन बनाए ।

कप्तान सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ (फिल्डिङमा बाधा पुर्‍याएको) आउट भए । सूर्य तामाङले १३ रन बनाए ।

पोखराका लागि मेहदी हसनले तीन विकेट लिए । धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको हो ।

पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन् ।  दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १३६ रनको साझेदारी गरे । कुशल ३९ बलमा सात चौका सहयोगमा ६२ रन बनाउँदा सोमपालकै बलमा विकेट किपरको हातबाट क्याच आउट भए । कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर मेहदी हसन १६ बलमा पाँच रन बनाउँदा सोमपालकै बलमा क्याच आउट भए । सन्नी विके तीन र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।

कर्णालीका लागि सोमपाल कामीले दुई विकेट लिए । उनले आफ्नो स्पेलमा २४ रन खर्चे । मार्क वाटको नाममा एक विकेट रह्यो ।

 

  • २३ कार्तिक २०८३, सोमबार १७:४७ प्रकाशित