स्याङ्जा ।
स्याङ्जाको वालिङमा यात्रुवाहक बसमा सवार एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको साविक लुभु गाविस–८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दिप मिजार रहेका छन् ।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक सुशिल घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंसिर २२ गते वालिङ नगरपालिका–१० फुलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १५५५ नम्बरको बसमा जाँच गर्ने क्रममा मिजारको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २७ थान, फेनेरगन इन्जेक्सन १५ थान र डाइजेपाम इन्जेक्सन १९ थान बरामद गरिएको छ । प्रहरीले उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका मिजारलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानका लागि स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।












