कांग्रेस महाधिवेशनको मतगणना सकियो, सपथ दसैं लागत्तै

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेस र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम आएसँगै गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो। सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सम्पन्न भएको थियो ।

सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही बेरमै औपचारिक नतिजा सार्वजनिक गर्ने तयारी रहेको कटुवालले बताए । यसपटक कांग्रेसको निर्वाचनमा झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।

निर्वाचन समितिका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । कटुवालका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिन र रातमा गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले बताए ।

असोज २३ गते मतदानपछि सोही दिन राति सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो ।

निर्वाचन समितिका अनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ । त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नेछ। बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिसम्बन्धी खाका तयार गर्ने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

  • ३० आश्विन २०८३, शुक्रबार ११:२२ प्रकाशित