काठमाडौं ।
नेकपा एमालेको आज शुक्रबार स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ ।
पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि निर्णय गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार विभिन्न पार्टी कमिटीसहित सङ्गठनहरूलाई पूर्णता दिने बैठकको एजेन्डा छ ।
त्यसअन्तर्गत विभागहरूको पूर्णता, सल्लाहकार परिषद्, जेष्ट कम्युनिस्ट मञ्च, पोलिटब्युरो, स्थायी कमिटीको पूर्णता र बाँकी केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्न बाँकी रहेको छ ।
गत पुसमा ११ औं महाधिवेशन गरेको नेकपा एमालेले अहिले सम्म धेरैजसो कमिटीहरूलाई पूर्णता दिन सकेको थिएन । हिजो बसेको बैठकले अगामी मंसिरमा राष्ट्रिय भेला, वडा तथा गाउँपालिकाहरुको अधिवेशन मिति तोकेको थियो ।













