काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ।नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ।
विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्धले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिइएको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।













