पोखरा ।
पोखरा ८ शान्ति मार्गको बीच भागमा भ्वाङ परेको छ । भासिएको भागलाई तत्काल पुर्न र थप क्षेती हुन नदिन स्थानीयले आग्रह गरेका छन् । शान्ति मार्गका स्थानीय समेत रहेका नेपाल रोडक्रस सोसाइटीका पूर्व केन्द्रीय पदाधिकारी समेत रहेका डोलराज पाण्डेले तत्काल भासिएको भाग नपुरिए थप क्षेती हुनेभन्दै पुर्न आग्रह गरिएको बताए ।
उनका अनुसार सडक शनिबार विहान भासिएको हो । शुक्रबार उनले भने ‘आज विहान करिव ११ बजे सडक भासिएको हो । यो भाग तत्काल नपुर्ने हो भने अझै भासिएर नजिकका घरहरुसमेत जोखिममा पर्न सक्छन् । त्यसैले तत्काल पर्नुपर्छ । विपद्मा भरे भोली भन्न हुन्न’ उनले भने । उनले छिमेकीले केही व्यक्तिले निकास भएको ठाउँमा ढलान गरिदिएका कारण पानीले निकास नपाउँदा समस्या भएको उल्लेखगरे ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले भ्वाङको आफूले पनि अबलोकन गरेको र तत्काल पुर्नका लागि व्यवस्थापनको कार्य भइरहेको जानकारी दिए । डोजर र ट्रिपर ल्यार भ्वाङ खोल्ने र पुर्ने काम कामका लागि पोखरा महानगरसंग आफूले समन्व गरेको उनले जानकारी दिए । ‘भ्वाङ परेको ठाउँमा अबलोकन गरेपछि महानगरसंग समन्वय गरेर डोजर र ट्रिपरका लागि भनेको छु । सक्दो छिटो भ्वाङ पुर्छौंं’ उनले भने ।
पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो । वरिष्ट भूगर्भविद श्रीकमल द्विवेदीका अनुसार यहाँको जमिन माछापुच्छ्रे क्षेत्रबाट सेतीमा आएको बाढीका कारण बनेको हो । पोखरा त्यसरी आएको चुनढुंगाले बनेको गेग्रान जमेर बनेको उनले बताए ।
हिजो पातलो बस्ती हुँदा ठिकै भएपनि अहिले तीब्र सहरीकरण भएको छ । त्यस अनुरुपको व्यवस्थित ढल निकास छैन । ढल निकास नहुँदा थोरै पानी छिर्ने ठाउँ भयो भने त्यहीँबाट थप खोलिने चुनयुक्त जमिन पग्लने द्विवेदी बताउँछन् । पोखराका विभिन्न ठाउँमा यस अगाडि पनि भ्वाङ पर्ने र पुर्ने काम भइरहेको छ । केही वर्ष अगाडि अर्मला क्षेत्र र बेला बखत पोखराको नदीपुर, नालाको मुख, महेन्द्रपुल स्थित साँघुको मुख लगायतका ठाउँमा भ्वाङ पर्दै आएको छ ।
‘पोखरामा उपयुक्त ढल निकास हुन सकेको छैन । धेरै पानी जथाभावी बग्न दिनुहुँदैन भनेर यस अगाडि नै विभिन्न समयमा मैले भन्दै आएको छु । त्यहाँको सेती डिलभिर र त्यसको नजिकको भाग, पाताले छाँगो लगायतका स्थल वरपर जोखिम रहेको विभिन्न अध्ययनले देखाएका छन् ।’ उनले भने , ‘अबपनि एउटा गहिरो अध्ययनको खाँचो मैले देख्छु । त्यो अध्ययन अनुरुप पोखराको ढल निकास कस्तो हुनुपर्छ, कुन कुन क्षेत्र जोखिम भन्ने निर्कोल गर्नुपर्ने देख्छु । जोखिम कम गर्ने उपाएको खोजी गर्न ढिलाई हुनुहुन्न ।’













