नेपालले गर्यो भदौमा ५ अर्ब ९ करोड रुपैयाँको विद्युत् निर्यात

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५६ करोड युनिटभन्दा बढी विद्युत् निर्यात गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडीसी), स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा उक्त परिमाणको विद्युत् निर्यातबाट प्राधिकरणले ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको हो ।

भदौमा नेपालले मुख्यतः द्विपक्षीय विद्युत् खरिद–बिक्री सम्झौता र विद्युत् बजारमार्फत विद्युत् निर्यात गरेको हो। द्विपक्षीय सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार राज्य तथा बंगलादेशमा विद्युत् बिक्री गरिएको थियो । त्यसैगरी, भारतीय विद्युत् बजारमार्फत समेत नेपालले विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फत भएको विद्युत् निर्यातको हिस्सा बढी रहेको छ । विद्युत् बजारमार्फत पनि उल्लेख्य परिमाणमा विद्युत् निर्यात भएको प्राधिकरणको विवरणले देखाएको छ ।

तर, भोटेकोसी नदीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात भने हाल रोकिएको छ । बाढीबाट प्रभावित आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्तिमा समस्या आएपछि बंगलादेशतर्फको निर्यात प्रभावित भएको हो ।

अन्य जलविद्युत् आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिसकिएको प्राधिकरणले जनाएको छ।

नेपालमा जलविद्युत् उत्पादन बढ्दै गएसँगै आन्तरिक माग पूरा गरेर अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री गर्ने क्रम बढेको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।

  • ३ आश्विन २०८३, शनिबार ११:५३ प्रकाशित