पोखरा ।
गण्डकी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी संविधान दिवस, २०८३ मनाएको छ । संविधान दिवसका अवसरमा पोखरामा प्रभातफेरीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा मुल समारोह कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।
विशेष समारोहको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा संघ सरकारबाट पर्याप्त सहजीकरण हुन नसकेको गुनासो गरे ।
प्रदेशले निर्माण गरेका कानुन कार्यान्वयन गर्न तथा संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न संघ सरकारसँग पटक–पटक आग्रह गर्नुपर्ने अवस्था रहेको उनले बताए। वित्तीय संघीयता र आवश्यक कानुन निर्माणको अवस्था अझै कमजोर रहेको उनको भनाइ थियो।
संघीयता कार्यान्वयनमा देखिएको कमजोरीले संघीय व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई बल पुगेको मुख्यमन्त्री पाण्डेले बताए । संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
समारोहमा गण्डकी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमान र पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायतले सम्बोधन गरेका थिए । उक्त अवसरमा गण्डकी प्रदेशका मन्त्रीहरु, सासंसदहरु, प्रदेशमा क्रियाशील विभिन्न दलका नेताहरु, प्रदेश स्थित उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।













