काठमाडौं ।
गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।
शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरूमार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उनले जानकारी दिए।
प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएकामध्ये २५ जनालाई झाडापखाला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराए।
यद्यपि, समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले झाडापखालाबाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण भने हालसम्म देखा नपरेको स्पष्ट पारे।
बाढीको पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने संरचनाहरूलाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिएका छन्।
भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने उनको भनाइ छ।














