पोखरा ।
काठमाडौं स्वयम्भुका अंगत अधिकारी आठ वर्षदेखि निरन्तर सार्वजनिक सवारीसाधन चलाउँदै आएका छन् । यात्रु ओसारपसार गरेर जीविका चलाउने उनको दैनिकी बिहानदेखि बेलुकासम्म सडकमै बित्छ । समयमा खाना खान पाउँदैनन्, पर्याप्त आराम गर्न पनि भ्याउँदैनन् । सानोतिनो कुरामा रिस उठ्ने, चिडचिडाहट हुने र झर्किने समस्या देखिए पनि उनले अहिलेसम्म आफ्नो स्वास्थ्य परीक्षण गराएका थिएनन् ।
चाडपर्वलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, लेखनाथ सिटी अस्पताल र स्थानीय वर्कसपहरूको सहयोगमा सवारीसाधन तथा चालक–सहचालकको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन भयो । त्यही क्रममा अधिकारीले पनि आफ्नो स्वास्थ्य जाँच गराए । परीक्षणको नतिजा उनका लागि अप्रत्याशित थियो । उनको माथिल्लो रक्तचाप १९० र तल्लो ११० देखियो । आफ्नो रक्तचाप यति धेरै बढेको थाहा पाएपछि उनी झस्किए । दैनिक सडकमा सयौँ यात्रु बोकेर हिँड्ने आफू नै गम्भीर स्वास्थ्य जोखिममा रहेको उनलाई थाहा थिएन ।
‘स्वास्थ्यभन्दा ठूलो अरू केही होइन रहेछ । अब राम्रो चिकित्सकलाई देखाउँछु । पैसा कमाएर मात्रै के गर्नु, स्वस्थ जीवन पनि बाँच्नुपर्छ,’ उनले भने, ‘एउटा चालकलाई समस्या आयो भने गाडीमा भएका सबै यात्रु समस्यामा पर्न सक्छन् भन्ने कुरा अहिले महसुस भयो ।’
अधिकारीको समस्या एक्लो होइन । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने धेरै चालकको स्वास्थ्य परीक्षण नियमित नहुने, खानपानको समय नमिल्ने र पर्याप्त आराम नपाउने अवस्था छ । उनीहरू दिनहुँ यात्रुको सुरक्षा जिम्मा लिएर सडकमा निस्कन्छन्, तर आफ्नै स्वास्थ्य अवस्थाबारे भने अनभिज्ञ हुन्छन् । चालकको स्वास्थ्यलाई बेवास्ता गर्दा त्यसको जोखिम चालकमा मात्रै सीमित रहँदैन, सवारीसाधनमा यात्रा गरिरहेका सबै यात्रुसम्म पुग्न सक्छ ।
रक्तचाप बढेको पत्तो छैन
मेघौली गोलाघाटदेखि पोखरासम्म सवारी चलाउने अञ्जन रानाभाटले पनि आफ्नो स्वास्थ्यबारे खासै ध्यान दिएका थिएनन् । स्वास्थ्य परीक्षण गर्दा उनको रक्तचाप सामान्य देखियो । तर, परीक्षणपछि उनले नियमित रूपमा रक्तचाप जाँच गराउनुपर्ने रहेछ भन्ने महसुस गरे ।
‘मेरो स्वास्थ्य ठीकै रहेछ । तर, यस्तो परीक्षण नियमित गर्नुपर्ने रहेछ । आफू नै अस्वस्थ भइयो भने सिंगो गाडीमा रहेका यात्रुलाई समस्या हुने रहेछ,’ उनले भने ।
पोखराको पावरहाउसका सुबबहादुर दर्जीले विगतमा १५ वर्ष विदेशमा गाडी चलाए । रातभर सवारी हाँकेका ति दिन स्मरण गरेका उनले हाल नेपालमै केही गर्नुपर्छ भनेर सवारी चलाउरहेका छन् । उनले रक्तचापको औषधी सेबन त गर्छ तर, त्यसलाई अन्य खानपानको असन्तुलनले नियमित गर्न समस्या छ । उनको स्वास्थ्य अवस्था पनि चुनौतीपूर्ण छ ।
गाडी खरिद गर्दा लागेको ऋण तिर्नुपर्ने दबाब, यात्रु नपाइने समस्या र अनियमित खानपानले उनको दैनिकी सहज छैन । स्वास्थ्य परीक्षणका लागि ट्राफिक प्रहरीले केही समय रोकेपछि उनी चिन्तित देखिन्थे । स्वास्थ्य परीक्षणको आवश्यकताप्रति सहमत भए पनि सवारी चलाउने समयमै रोकिँदा काम प्रभावित हुने उनको गुनासो थियो ।
‘स्वास्थ्य परीक्षण गर्नु, चेकजाँच गर्नु ठीकै हो । तर, बेला न कुबेला यसरी रोक्नु ठीक छैन,’ उनले भने, ‘लागुऔषध र मादक पदार्थ सेवन गरेर सवारी चलाउने पनि छन् । उनीहरूलाई पनि चेकजाँच गर्नुपर्यो । उनीहरूका कारण धेरै समस्या छ ।’
अधिकारी, रानाभाट र दर्जी सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने चालकका प्रतिनिधि पात्र हुन् । स्वास्थ्य परीक्षणका क्रममा धेरै चालक हतारमा देखिन्थे । नियमित स्वास्थ्य परीक्षण गराउने चालक कमै भेटिए । यसले सार्वजनिक यातायात क्षेत्रमा चालकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकिएको देखाउँछ ।
चालकको स्वास्थ्यसँग जोडिन्छ यात्रुको सुरक्षा
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सवारी दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही पनि रहेको विभिन्न तथ्यांकले देखाएका बताए । चालकको स्वास्थ्य, खानपान र जीवनशैलीले सवारी सञ्चालनमा प्रभाव पार्ने भएकाले स्वास्थ्य परीक्षणलाई महत्त्व दिनुपर्ने उनको भनाइ छ ।
‘चालकको स्वास्थ्य अवस्था, सवारीसाधनको अवस्था र सडकको अवस्थालगायत विभिन्न कारणले दुर्घटना हुन सक्छन् । त्यसैले दुर्घटना न्यूनीकरणका लागि सबै पक्षमा ध्यान दिनुपर्छ,’ काफ्लेले भने ।
उनका अनुसार चालकको अवस्थालाई बेवास्ता गरेर सडक सुरक्षाको लक्ष्य हासिल गर्न सकिँदैन । चालक स्वस्थ भए मात्रै सवारी सञ्चालनमा आवश्यक सतर्कता र जिम्मेवारी निर्वाह गर्न सहज हुन्छ । त्यसैले ट्राफिक प्रहरी, स्वास्थ्य संस्था, यातायात व्यवसायी र अन्य सरोकारवालाबीच समन्वय गरेर काम गर्नुपर्ने उनले बताए ।
चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको प्राविधिक अवस्था र सडक सुरक्षालाई सँगसँगै प्राथमिकता दिनुपर्ने देखिन्छ । चालकको स्वास्थ्य जाँचलाई केवल औपचारिकतामा सीमित नगरी नियमित प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि यसले देखाएको उनको बुझाई छ । यसका लागि सरोकारवाला निकायसंग सहकार्य गरेर काम गर्ने उनले बताए ।
अधिकांश चालकमा उच्च रक्तचापको जोखिम
लेखनाथ सिटी अस्पतालमा कार्यरत डा. समिर ढकालका अनुसार अस्वस्थ व्यक्तिले आफ्नो काम प्रभावकारी रूपमा गर्न कठिन हुन्छ । सार्वजनिक सवारीका चालकको हकमा उनीहरूको स्वास्थ्य अवस्थाले समग्र यात्रुको सुरक्षामै प्रभाव पार्न सक्छ ।
चालकको स्वास्थ्य परीक्षणका क्रममा धेरैमा रक्तचाप बढेको पाइएको र नियमित स्वास्थ्य परीक्षण गराउने अभ्यास कम देखिएको उनले बताए । ‘सामान्यतया वयस्क व्यक्तिमा माथिल्लो रक्तचाप १२० र तल्लो ८० आसपास हुनुलाई उपयुक्त मानिन्छ । तर, परीक्षणका क्रममा केही चालकमा रक्तचाप निकै बढेको देखियो,’ उनले भने ।
चालकहरूले चक्कर लाग्ने, टाउको दुख्ने वा अन्य असहजता हुँदा पनि त्यसलाई सामान्य ठानेर बेवास्ता गर्ने गरेको पाइएको उनको भनाइ छ । रक्तचाप बढ्दा कतिपय व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले आफूलाई स्वस्थ महसुस हुँदैमा स्वास्थ्य परीक्षण आवश्यक नपर्ने भन्ने सोच गलत भएको उनले बताए ।
अधिकारीको रक्तचाप १९०/११० देखिनु त्यसको एउटा उदाहरण हो । यति उच्च रक्तचापलाई गम्भीर रूपमा लिनुपर्छ । यस्तो अवस्था देखिएमा तत्काल चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ । रक्तचाप अत्यधिक बढेको अवस्थामा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, दृष्टिमा परिवर्तन आउने वा शरीरको कुनै भाग कमजोर हुनेजस्ता लक्षण देखिए तत्काल आकस्मिक उपचार लिनुपर्छ ।
ढकालले चालक तथा सहचालकलाई नुनको मात्रा घटाउन, चिल्लो र बोसोयुक्त खाना कम खान तथा खानपानमा नियमितता अपनाउन सुझाव दिए । त्यसैगरी, पर्याप्त आराम गर्ने, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्नुपर्ने उनले बताए ।
स्वास्थ्य परीक्षण नियमित बनाउनुपर्ने
सार्वजनिक यातायातमा चालकको भूमिका केवल गाडी चलाउनुमा सीमित हुँदैन । उनीहरूको हातमा यात्रुको जीवन र सुरक्षाको जिम्मेवारी हुन्छ । तर, अनियमित खानपान, आरामको अभाव, आर्थिक दबाब र स्वास्थ्य परीक्षणप्रतिको बेवास्ताले चालक आफैँ जोखिममा पर्ने अवस्था देखिएको छ ।
चालकको स्वास्थ्य परीक्षणलाई चाडपर्व वा विशेष अभियानमा मात्र सीमित राख्नु पर्याप्त हुँदैन । यातायात व्यवसायीले चालकको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, चालकले आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत रहने र ट्राफिक प्रहरीले स्वास्थ्य संस्थासँगको समन्वयमा परीक्षणलाई निरन्तरता दिने व्यवस्था आवश्यक देखिएको छ ।
सँगै, स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप वा अन्य समस्या देखिएका चालकलाई समयमै उपचारका लागि पठाउने र उनीहरूको स्वास्थ्य अवस्था मूल्यांकन गरेर मात्रै सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्छ ।
अधिकारीले परीक्षणपछि बुझेको कुरा सार्वजनिक यातायात क्षेत्रकै लागि महत्त्वपूर्ण छ । चालकको स्वास्थ्य व्यक्तिगत विषय मात्रै होइन, सार्वजनिक सुरक्षाको सवाल पनि हो । चालक अस्वस्थ हुँदा जोखिम उसैमा सीमित रहँदैन । त्यसको मूल्य यात्रुले आफ्नो ज्यान जोखिममा पारेर चुकाउनुपर्ने हुन सक्छ ।













