स्याङ्जामा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गुमेको छ । शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राङखोला–बिरुवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङको ज्यान गुमेको हो ।

गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर दिउँसो करिब २ः३५ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको घटनास्थलमै ज्यान गुमेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ ।

स्कुटरको पछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल छन् । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

  • ६ कार्तिक २०८३, शुक्रबार १८:५४ प्रकाशित