काठमाडौं ।
तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको ज्यान गुमेको छ । भूकम्पका कारण अन्य ३२ जना घाइते भएका चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर(पूर्वमा रहेको नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पका कारण ३ सयभन्दा बढी घरहरू ढालेका छन् भने प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ । समुद्र सतहबाट करिब ४,८०० मिटरको उचाइमा रहेका दुर्गम गाउँ भूकम्पबाट बढी प्रभावित भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
चिनियाँ अधिकारीले आपत्कालीन अवस्थाको घोषणा गर्दै उद्धार टोलीहरू घट्नास्थलतर्फ परिचालन गरेका छन् ।













