पोखरा ।
पोखरामा यहि भदौ २० गते शनिबार हुने भनिएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव भोटेकोशी बाढीका कारण सरेको छ । तायाः मचा नृत्य प्रतियोगिता अब असोज ३ गते शनिबारको दिन हुने आयोजक लामाचौर नेवाः खल गुठी कास्कीका सचिव योगेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
बाढीका कारण सयौंको ज्यान जानुका साथै हजारौं बेपत्ता तथा घाईते भएर देश शोकमा परेको भन्दै आयोजक लामाचौर नेवाः खल गुठी कास्कीले पूर्व निर्धारित भदौ २० गते हुने भनिएको प्रतियोगिता स्थगित गर्दै नया मिति तय गरेको हो । नेवाःखल कास्कीको आह्वानमा हुने तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सवको २७ औं श्रृंखला पोखरा–१६ लामाचौर चोकमा हुनेछ ।
नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ ।
विगत २७ वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार, लेखनाथ लगायतका क्षेत्रमा भइसकेको छ । पहिलो पटक लामाचौरले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न पाएकाले यसलाई ऐतिहासिक बनाउने प्रयासमा आफूहरु लागेको प्रतियोगिताका मूल आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा यस वर्ष ३८ वटा टीम सहभागी हुने आयोजकको अनुमान छ । जसमा महिला १२ टिम सहभागी हुने लामाचौर नेवा ः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठ ९युगीन०ले जानकारी दिए । तर अप्रतियोगिका रुपमा आयोजक लामाचौरसँगै छोरेपाटनले पनि सहभागिता जनाउने उनले बताए ।
यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १५ हजार प्रोत्साहन स्वरुप प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
यसैबीच, लामाचौर नेवाःखल गुठी कास्कीले भोटेकोशी बाढी पीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।











