पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

एआईद्वारा निर्मित तस्बिर

पोखरा ।
पोखरामा सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने प्रलोभन देखाउँदै झोला तान्ने, करकाप गर्ने र दुःख हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले असोज १७ र १८ गते पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासावनका अनुसार सार्वजनिक स्थानमा आउने सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै आफ्नो पछि लाग्न बाध्य पार्ने, झोला तान्ने तथा अनावश्यक करकाप गरी हैरानी दिने गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका पाँचै जनामाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्यटकलाई अनावश्यक दुःख दिने तथा सार्वजनिक स्थानमा असुरक्षा र हैरानी सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।

  • १८ आश्विन २०८३, आईतवार २०:५१ प्रकाशित