काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि देशकै संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन काठमाडौँको खुलामञ्चमा हुनेछ भने, त्यहाँ खुलामञ्चमा मञ्च निर्माण, सजावट र अन्य व्यवस्थापकीय तयारी गरिएको छ ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुनेछ । आज देखि देखि २२ असोजसम्म २२ चल्ने महाधिवेशनमा देशभरका साथै विदेशबाट समेत गरी ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने केही आउने क्रम जारी छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि राजधानीका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने जनाइएको छ ।
कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा गरेको छ । अन्य देशका राजनीतिक दलका प्रतिनिधि तथा शुभकामना सन्देशसमेत प्राप्त भएको कांग्रेसले जनाएको छ ।
बन्दसत्रदेखि नेतृत्व चयनसम्म
महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ। कांग्रेसको कार्यतालिकाअनुसार असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ भने असोज २१ र २२ गते निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिनेछ ।
मतदानका लागि खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठानमा व्यवस्था मिलाउने तयारी भइरहेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।
महाधिवेशन व्यवस्थापनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क र प्रतिनिधिका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए ।
नेतृत्व र नीतिमा नयाँ बहसको अपेक्षा
यसपटकको महाधिवेशनलाई कांग्रेसको भावी नेतृत्व चयनसँगै पार्टीको राजनीतिक दिशा, नीतिगत प्राथमिकता र संगठनात्मक सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
कांग्रेसले यस महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ। नारा अनुरूप पार्टीको ऐतिहासिक विरासत जोगाउँदै संगठनलाई समयानुकूल बनाउने चुनौती र अवसर दुवै महाधिवेशनसामु रहनेछन्।












