‘म्युजिकल चियर’ प्रवृत्तिले राजनीतिप्रति वितृष्णा बढ्यो : गगन थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपाली राजनीतिप्रति जनतामा वितृष्णा बढाएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।  उनले प्रधानमन्त्री, मन्त्री र पार्टीको नेतृत्वमा पटकपटक उही व्यक्ति दोहोरिने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे ।

राजनीतिक नेतृत्वले जनताको बदलिँदो मनोविज्ञान र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताए । प्रधानमन्त्री भइसकेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेतृत्वमा पुगेका व्यक्ति पटकपटक त्यही पदमा दोहोरिन चाहने र मन्त्री भइसकेका व्यक्तिहरू पनि निरन्तर सत्तामै रहन खोज्ने प्रवृत्तिले राजनीतिप्रति नकारात्मक धारणा बढाएको उनको भनाइ थियो ।

‘म्युजिकल चियरजस्तो बनेको थियो । प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो ।’

उनका अनुसार राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि एकैपटक उत्पन्न भएको होइन । लामो समयदेखि जनतामा सञ्चित असन्तुष्टि क्रमशः बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थियो । त्यसले कुनै एउटा दल वा नेतालाई मात्र नभई समग्र राजनीतिक नेतृत्व र प्रणालीप्रतिको विश्वासमा असर पारेको उनले बताए ।  ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ थापाले भने ।

थापाले नेपाली समाजका हरेक क्षेत्रमा राजनीतीकरण बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्मका विषयलाई राजनीतिक दृष्टिकोणबाट मात्रै हेर्ने प्रवृत्तिले समाजमा अतिराजनीतिकरण बढाएको उनको भनाइ थियो ।

‘अति राजनीति पनि छ । फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ । फेरि जनता हाइपर पोलिटिक्सतिर गयो । जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने ।

दुई राजनीतिक दल मिलेर बनेको दुईतिहाइ बहुमतको सरकारले समेत जनतासँग पर्याप्त संवाद गर्न नसकेको थापाले बताए । सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको व्यवहार र जनअपेक्षाबीच बढेको दूरीलाई दलहरूले समयमै सम्बोधन गर्न नसक्दा भदौ २३ र २४ गतेको घटना भएको उनको विश्लेषण थियो । ‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार । सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ उनले भने ।

 

  • १८ आश्विन २०८३, आईतवार २०:२८ प्रकाशित