पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनका लागि वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यापारी तथा व्यवसायीका समस्या समाधानका लागि संघको भूमिका थप प्रभावकारी बनाउन आफूले पहल गर्ने बताएका छन् ।
अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गौतमले व्यवसायीलाई समस्या पर्दा उनीहरूकै बीचमा पुगेर समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्नु वाणिज्य उपाध्यक्षको प्रमुख जिम्मेवारी भएको बताए ।
‘वाणिज्य उपाध्यक्षको मुख्य जिम्मेवारी नै व्यापारी व्यवसायीका समस्या बुझेर समाधानका लागि पहल गर्नु हो,’ गौतमले भने, ‘व्यवसाय सञ्चालनका क्रममा जहाँ समस्या आउँछ, त्यहाँ पुगेर व्यवसायीको आवाज सुन्ने र समाधानका लागि काम गर्ने प्रतिबद्धताका साथ उम्मेदवारी दिएको हुँ ।’
३१ वर्षदेखि व्यवसायमा सक्रिय गौतमले आफ्नो व्यवसायिक यात्रा विशाल बजारबाट सुरु भएको बताए । लामो व्यवसायिक यात्राका क्रममा आफूले व्यवसायीले भोग्ने विभिन्न समस्या नजिकबाट अनुभव गरेको भन्दै त्यही अनुभवलाई संघको जिम्मेवारीमा उपयोग गर्ने उनको भनाइ छ ।
गौतमले घरबेटी र व्यवसायीबीचका समस्यालाई पनि संघले प्राथमिकताका साथ उठाउनुपर्ने बताए । व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू घरभाडा तथा घरबेटीसँग सम्बन्धित विभिन्न समस्याबाट प्रभावित हुने गरेको उल्लेख गर्दै त्यस विषयमा व्यवसायीको पक्षमा संस्थागत पहल आवश्यक रहेको उनको भनाइ छ ।
‘धेरै व्यापारी व्यवसाय गरिरहेको ठाउँमा घरबेटीसम्बन्धी समस्याबाट प्रभावित हुनुहुन्छ,’ उनले भने, ‘यस्ता विषयमा व्यवसायीको आवाजलाई संघमार्फत सम्बन्धित पक्षसम्म पुर्याउँदै समाधानका लागि आवश्यक पहल गर्नु हाम्रो दायित्व हो ।’
उनले कर तथा राजस्वसम्बन्धी विषयमा पनि व्यवसायीलाई सहज वातावरण आवश्यक रहेको बताए । आन्तरिक राजस्व कार्यालयसँगको कामका क्रममा व्यवसायीले अनावश्यक झन्झट महसुस गर्न नपरोस् भन्नका लागि संघले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
व्यवसायीलाई समस्या पर्दा आफू व्यक्तिगत रूपमा समेत उनीहरूको साथमा पुग्दै आएको उल्लेख गर्दै गौतमले आगामी दिनमा पनि व्यवसायीको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टिमले व्यवसायीका वास्तविक समस्या पहिचान गरी समाधानमुखी पहललाई प्राथमिकता दिने बताए । सबै क्षेत्रका व्यापारी तथा व्यवसायीलाई समेटेर संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
‘व्यवसायीको समस्या बुझ्न उनीहरूकै बीचमा पुग्नुपर्छ,’ गौतमले भने, ‘मेरो ३१ वर्षको व्यवसायिक अनुभवलाई अब व्यवसायीको हितमा प्रयोग गर्दै संघमार्फत प्रभावकारी आवाज उठाउनेछु ।’











