पोखरा ।
पोखरा जाभा कफी हाउसले आफ्ना दुई वटा शाखामा ५ दिनसम्म हुने सबै व्यापारबाट प्राप्त रकम सिधै प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको छ । पोखरा जाभाको लेकसाइडस्थित हल्लनचोक र जिरोबार शाखामा ग्राहकले जेजे उपभोग गर्छन र बिल तिर्छन् त्यो सबै प्रधानमन्त्री राहत तथा उद्धार कोषको खातामा तिर्ने गरेका छन् । यही १४ भदौबाट सुरु भएको यो क्रम १८ भदौसम्म जारी रहने पोखरा जाभा कफी हाउसकी सञ्चालक ममता न्यौपानेले जानकारी दिइन् ।
विपदमा परेका नागरिकको सहयोगका लागि यस्तो प्रबन्ध गरिएको उनले बताइन् । यस अवधिमा ग्राहकले कफी पिएपछि बिल तिर्दा एउटा विशेष क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । उक्त क्युआर कोडबाट पैसा भुक्तानी गर्दा त्यो कफी हाउसको बैंक खातामा नभई सिधै ‘प्रधानमन्त्री दैवी उद्धार राहत कोष’ को खातामा जम्मा हुन्छ । ‘तपाईंले उपभोग गरेको वस्तुको बिल सिधै क्युआरमार्फत तिर्दा प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जाने व्यवस्था गरेका छौं,’ सञ्चालक न्यौपानेले भनिन् । उनले संकटको यो घडीमा थोरै भए पनि पीडितको घाउमा मलम लगाउन यस्तो पहल गरिएको जानकारी दिइन् ।
यो अभियानले ग्राहकलाई स्वादिलो कफी र खाजासहितको आनन्दसँगै पीडितलाई प्रत्यक्ष सहयोग गर्ने अवसर दिएको छ । कफी हाउसले यसअघि पनि विभिन्न सामाजिक संकटमा सहयोग गर्दै आएको थियो । यसपटक प्रविधिको प्रयोग गरेर पारदर्शिता सहित सिधै सरकारी कोषमा रकम पठाउने संयन्त्र बनाइएको छ । बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको बेला निजी क्षेत्रबाट भएको यो पहललाई धेरैले प्रशंसा गरेका छन् ।
हल्लनचोक र जरेबार पुग्ने जोकोहीले कफी पिउँदा वा अन्य खाजा खाँदा यो अभियानमा सहभागी हुन सक्छन् । ५ दिनको यो छोटो अवधिमा धेरैभन्दा धेरै नागरिकलाई राहत कोषमा जोड्ने लक्ष्य कफी हाउसले राखेको छ । कफी हाउसका कर्मचारीले पनि ग्राहकलाई यो अभियानबारे जानकारी दिने र क्युआर भुक्तानीमा सहयोग गर्ने गरेका छन् ।












