काठमाडौं ।
रसुवाको भोटेकोसी बाढीमा परेका विभिन्न मानव अंगसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ। नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ठूलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको छ । आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन् । विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने नेपाली १ सय २७ जनाको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन् ।
विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन् ।
हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ। विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ। घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।
बाढीले सञ्चार क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ। कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ ।
नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ । हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको पनि व्यवस्थापन भइरहेको छ । नुवाकोटस्थित विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ । हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात छ भने थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले उल्लेख गरेको छ ।












