पोखरा ।
नदी र आसपासका क्षेत्रबाट अबैध रुपमा बालुवा उत्खनन् गर्ने विरुद्ध कास्की प्रहरीले सक्रियता देखाएको छ । सेती नदी तथा आसपासका क्षेत्रमा अवैध रूपमा प्राकृतिक स्रोत दोहन गर्ने गतिविधि बढेपछि कास्की प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई तीव्र बनाएको हो । कास्की प्रहरीले दुई दिनको अवधिमा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पोखरा महानगरपालिका–१९ दावाघाटस्थित सेती नदी किनारबाट अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा १७ मंसिरको राति १०ः२० बजे एउटा टिप्पर नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी घाचोकबाट खटिएको टोलीले लु २ ख ८१७ नम्बरको टिप्पर नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, १८ मंसिरको बिहान १०ः३० बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२८ स्याङखुदीस्थित सेती नदीबाट अवैध रूपमा बालुवा लोड गरिरहेका थप दुईवटा टिप्पर नियन्त्रणमा लिएको छ । प्रहरीले ग ए ए ०१२४ र ग ०१००१ ख ०११८ नम्बरका टिप्पर नियन्त्रणमा लिएको हो ।
यसैगरी, पोखरा महानगरपालिका–१७ ढुङ्गेसाँघुबाट ग १ क ४३१८ नम्बरको टिप्पर र पोखरा–२७ तालचोकबाट ग १ क ३८७० नम्बरको स्काभेटर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका पाँचवटै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएकोमा महानगरले ती सवारीसाधनमाथि कारबाही गर्दै कुल एक लाख २२ हजार रुपैयाँ जरिवाना असुल गरी छाडेको प्रवक्ता पासवानले जानकारी दिए ।













