काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो ।
महाशाखाले बुधबार जारी गरेको अनुसार प्रतिव्यक्ति २।५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) एक–एक थानका दरले बढीमा दुई थान बिक्री गरिनेछ ।
असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात कायम रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।
असर्फी तथा मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारण भएपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।












