जनताका अपेक्षा पुरा गर्न सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति रामचन्द्र पौडेल

केन्द्रभाग मिडिया

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारप्रति शून्य सहनशीलता र कानुनको शासन नै सुशासनको आधार भएको बताएका छन् ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सुशासनका लागि सार्वजनिक स्रोतसाधनको सदुपयोग गर्दै, नैतिक आचरणको अवलम्बन नै सुशासनको आधार भएको बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो ।’राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताले राखेका ती अपेक्षा पूरा गर्नेतर्फ गम्भीर हुने विश्वास व्यक्त गरे ।

उनले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे ।

‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन, यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकांक्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो’, राष्ट्रपति पौडेलले भने ।

प्रशासनिक भवन आधुनिक भएजस्तै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो ।

यसअघि राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरि टीकाप्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरे । रासस

  • १८ कार्तिक २०८३, बुधबार १३:०० प्रकाशित