काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूहरू पुरानो पुस्तासँग लड्न होइन राजनीतिक संस्कार सिकाउन आएको बताएका छन् । रास्वपाको आजबाट चितवनको भरतपुरमा आयोजित प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उपसभापति डा।वाग्लेले बहुमतले शासन गर्ने र अल्पमतले सम्मान गर्ने संस्कार विकास गर्न आएको बताए ।
‘हामीहरू पुरानो पुस्तासँग लड्न होइन राजनीतिक संस्कार सिकाउन आएका हौँ, ’ डा.वाग्लेले भने, ‘बहुमतले शासन गर्ने र अल्पमतले सम्मान गर्ने संस्कार विकास गर्न आएका हौँ ।’
अहिलेसम्म भएका आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत गर्दै संस्थाहरूलाई बलियो बनाउने आफूहरूको योजना रहेको उपसभापति वाग्लेले बताए । संविधान अन्तर्गत निर्माण भएका संस्थाहरू बलिया हुन नसक्दा मुलुकको विकास सही गतिमा अगाडि बढ्न नसकेको उनले बताए ।
उनले गलत प्रोत्साहन संरचना अहिलेको प्रमुख समस्या रहेको वाग्लेले बताए । ‘गलत प्रोत्साहन संरचना हाम्रो समस्या हो । अहिलेसम्म नवपर्वतन गर्न कठिन देखिएको छ । शक्तिकेन्द्रसँग नजिक भएमा अवसर पाइने सबैको ध्येय छ,’ वाग्लेले भने, ‘हाम्रो राजनीतिक उद्देश्य सरकार फेर्ने होइन । हामी भागबन्डाको राजनीतिबाट मेरिटोक्रेसीमा जाने युगको थालनी गर्न चाहन्छौँ ।’
आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन आएको बताए । नयाँ पुस्ताले प्रश्न मात्रै सोध्दैन, उत्तर पनि दिन सक्छ भन्ने देखाउन आफूहरू आएको उनको भनाइ थियो ।
‘नयाँले प्रश्न सोध्न मात्रै जान्दैन, उत्तर पनि दिन सक्छ,’ वाग्लेले भने, ‘सपना मात्र होइन परिणाम पनि दिन सक्छ । त्यो हामी दिन चाहन्छौँ ।’
उनले बालकको भविष्य प्रतिभाले तय गर्ने व्यवस्था निर्माण गर्न चाहेको बताए । आफूहरूले निराशालाई आशामा बदल्ने र विद्रोहलाई रूपान्तरणमा परिवर्तन गर्ने अठोट लिएको उनले बताए ।













