भैरहवा ।
सिल्भर ट्र्याङगल (पोखरा, चितवन र लुम्बिनी) को एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिइएको छ । होटल संघ पोखराले सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भेरहवामा आयोजित आन्तरिक पर्यटन प्रवर्दन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जोड दिइएको हो ।
अन्तरक्रियमा सहभागीले पोखरा, चितवन र भैरहवा फरक फरक विशेषता बोकेका महत्वपूर्ण पर्यटकीय स्थल रहेकाले यी पर्यटकीय स्थल र ट्रपाङगल भित्र जोडिने सम्पूर्ण पर्यटकीय स्थलहरू समावेस गरेर प्याकेज तपार गरिनुपर्नेमा जोड दिइयो ।
कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमक खाँले सिल्भर ट्रयाङ्गल अवधारणा महत्वपूर्ण अवधारणा रहेको वताए ।
उनले यसलाई सफल बनाउन सवैको सामुहिक पहल गर्नुपर्ने धारणा राखे । पर्यटन क्षेत्र सम्वेदनशील क्षेत्र हो भन्ने कुरामा ध्यान दिनु पर्नेमा उनले जोड दिए । पर्यटकीय क्षेत्रको सकारात्मक पक्षको उजागर हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले सिल्भर ट्याङ्गल क्षेत्रको एकीकृत र ब्यवस्थित प्रवर्दनका लागि नै अवधारणा ल्याइएको बताए ।
यो अवधारणालाई सफल पार्न गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारका साथै ट्र्याङ्गल भित्रका स्थानीय तहका साथै पर्यटनसंग सम्बन्धित सवै पक्षले सामुहिक रूपमा पहल गर्नु पर्नेमा जोड दिए ।
उनले पोखरा देशकै पर्यटकीय राजधानी भएकाले त्यहाँ हुने गतिविधिले वाँकी पर्यटकीय स्थलमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
पोखरा, चितवन र लुम्बिनी सम्मिलित सिल्भर ट्रयाङ्गलको छुट्टै लोगो बनाउने तयारीमा पर्यटन बोर्ड रहेको जानकारी दिंदै उनले त्यस पस्चात एक क्षेत्रको जानकारी लिँदा बाँकी दुई स्थानको बारेमा जानकारी दिने प्रवन्ध मिलाउने बताए ।
प्रमुख लामिछानेले भारतीय पर्यटकलाई लक्षित गरेर राजमार्ग क्षेत्रमा पर्यटकमैत्री पूर्वाधार निर्माणमा जोड दिइएको जानकारी दिए ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली भारतीय र चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपाल भित्र्याउने वातावरण बनाउनु पर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु शर्माले बोलीमा मात्र नभएर ब्यवहारमा नै पोखरा, चितवन र लुम्बिनीको एकीकृत विकासको योजना बन्नुपर्ने बताए ।
नाट्टाका केन्द्रीय सदस्य चन्द्र बहादुर थापाले पर्यटकीय राजधानी पोखराबाट अन्यन्त्रका पर्यटन व्यवसायीले सिक्नुपर्ने विषय धेरै नै रहेको उल्लेख गरे ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटकीय क्षेत्रका अनुभव आदान प्रदानको मध्यमवाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।
हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय रुपैयाँ धेरै वेक्न नपाउँदा भारतीय पर्यटकलाई समस्या रहेको सुनाए । उनले भैरहवा र पोखरा विमानस्थल दुवै राम्रोसंग चल्न नसक्नु दुखद् रहेको उल्लेख गरे ।
कार्यक्रममा स्वागत गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले लुम्बिनी आएका पर्यटक पोखरा र पोखरा आएका पर्यटक लुम्बिनी ल्याउने व्यवस्था गर्नका लागि पर्यटन व्यवसायीबीच आवश्यक सहकार्य हुनुपर्नेमा जोड दिए । भैरहवा हुँदै पर्यटक धेरै भित्रने र उनीहरुलाई पोखरा लगाएत देशका विभिन्न ठाउँमा पुग्न प्रेरित गर्नु पर्नेमा उनको जोड थियो ।
पोखराको पर्यटन क्षेत्रमा करिव ८ खर्व लगानी भएको र त्यसमध्ये होटल क्षेत्रमा मात्र ६ खर्ब लगानी भएको उनले जानकारी दिए ।
होटल संघ पोखराले जाउँ है पोखरा अभियान र चलिए पोखरा अभियान चलाएर आन्तरिक एवं भारतीय पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सफल भएको उनको भनाई थियो ।
नेपाल भारत मैत्री संघ लुम्बिनीका निवर्तमान अध्यक्ष श्रीचन्द गुप्ता, लुम्बिनी रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष राजेश मलोहत्रा, होटल संघ पोखराका सचिव पार्वती पाण्डे र लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी लगयतले सो अवसरमा बोलेका थिए ।













