काठमाडौं ।
अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ ।
चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेसंगै केन्द्रीय सदस्यको संख्या १५८ सदस्यीय हुने भएको हो । सहमहामन्त्री विपिन आचार्यका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर रास्वपाको विधान संशोधन गरिएको हो।
त्यसलाई केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको थियो । शनिबार केन्द्रीय समितिको अन्तिम बैठकले पनि संशोधित विधान अनुमोदन गरेको हो ।
रास्वपाको संशोधन गरिएको विधानअनुसार, एक जना सभापति रहने व्यवस्था यथावत छ । उपसभापति तीन जना रहने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरेको छ ।
तीन जना उपसभापतिमा एक जनालाई सभापतिले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तै, दुई जना महामन्त्री रहनेछन् । त्यसमा एक जना निर्वाचित हुनेछन् भने एक जनालाई सभापतिले मनोनित गर्नेछन् ।
सहमहामन्त्री पनि पाँच जना राख्ने व्यवस्था गरिएको छ । त्यसमा दुई जनालाई सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको आचार्यले बताए ।
यससँगै रास्वपाको केन्द्रीय सदस्यको संख्या पनि बढाएको छ ।
केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछन् । बन्दसत्रबाट पारित भएसँगै नयाँ केन्द्रीय समिति संशोधित विधान अनुसार चयन हुनेछ ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन गरिनेछ । त्यसपछि उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि प्रकाशित गरिसकेको छ। असार ८ गते उम्मेदवारी दर्ता र असार ९ गर्ने मतदान तोकिएको छ ।












