काठमाडौं।
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिमको न्यूनीकरण गर्दा राज्यकोषको दुरुपयोग रोक्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गुरुङले अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग हुने गरेको टिप्पणी गरे ।
उनले भने,‘यसपटक अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिन्छु ।’ मन्त्री गुरुङले आफूले पनि हेलिकप्टर नचढ्ने घोषणा गरे ।
उनले भने, ‘म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन ।’ बैठकमा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । विपद् न्यूनीकरणमा परम्परागत कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गुरुङले भने– ‘हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौँ, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन ।’
विपद् आउनु अघि नै सजग र पूर्वतयारीमा लाग्नु आवश्यक रहेको उनले बताए ।













