पोखरा बसपार्क भित्रका संरचनामा चल्यो महानगरको डोजर

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा बसपार्क भित्र अतिक्रमण गरेर बनाइएका र केही लालपुर्जा भएका जगामा निर्माण भएका घरटहरामा पोखरा महानगरको डोजर चलेको छ । बिहीबार विहान ११ बजेबाट चलेको डोजरले बसपार्क भित्र २ सय भन्दा धेरै संरचना भत्काएको पोखरा महानगरपालिका प्रहरी बलले जानकारी दिएको छ । महानगरपालिका प्रहरी बलका प्रमुख पुर्षोतम थापाका अनुसार विहान ११ बजेदेखि चलेको डोजरले १ बजेसम्मा ती घरहरु भत्काइसकेको हो ।

महानगरले यस अगाडि विभिन्न समयमा ती घरटहरा हटाउन सार्वजनिक रुपमा सूचना दिँदै आएको थियो । अन्तिम पटक केही समान भएको भए हटाउन बुधबार समय दिइएको र बिहीबार डोजर चलाइएको उनले जानकारी दिए । उनका अनुसार भत्काउनु अगाडि नै ती घरटहराका मानिसहरुले आफ्ना समान निकालेर घरटहरा खाली गराइसकेका थिए ।

यसैबीच पोखरा बसपार्कमा रहेका सुकुमबासीको पहिचान र उनीहरुको व्यवस्थापनका लागि जग्गा खोजी गर्न गठन भएकोे दुई छुट्टाछुट्टै समितिको म्याद थप गरिएको छ । जग्गा खोजी गर्न गठित समितिलाई १० दिन र बास्तविक सुकुमबासी पहिचान गर्न गठित समितिलाई थप १५ दिनको म्याद दिइएको पोखरा महानगरपालिकाले जनाएको छ ।

गठित दुई समितिले २८ जेठसम्म प्रतिवेदन बुझाउनुपर्नेमा अहिलेसम्म एउटा समितिले मात्रै प्रतिवदेन दिएको र अर्को समितिले प्रतिवेदन नदिएपछि कार्यपालिका बैठकले म्याद थप गरिदिएको महानगरपालिकाले जनाएको हो ।

जग्गा खोजी गरी सिफारिस गर्ने समितिले ६ वटा ठाउँमा सुकुमबासी व्यवस्थापन गर्न सकिने सुझाव दिएकोमा कतिपय जग्गा लालपुर्जामा पर्ने भएपछि नयाँ जग्गा खोजी गर्न कार्यपालिका बैठकले म्याद थप गरिदिएको हो ।

पोखरा बसपार्क निर्माणका लागि ५१ वर्ष आगाडि २०५ रोपनी (फिल्डमा नाप्दा १९६–११–३–०) जग्गा अधिग्रहण गरिएको थियो । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा उपत्यका नगरविकास समितिकै पछिल्लो रिपोर्ट अनुसार अहिले अधिग्रहण गरिएको जमिनको जम्मा २६ रोपनी जमिनमा मात्र बस पार्किङ गर्न मिल्ने आवस्थामा छ ।

अधिग्रहण गरिएको जग्गाकेही भाग सट्टापट्टा र बिक्री–वितरण नै भएको छ भने अतिक्रमण गरेर बसेका सुकमबासी तथा भूमिहिनका ४५७ घर टहरा छन् । ती घरटहरा मध्य केही र केही लालपुर्जा भएका जग्गा बनेका संरचना समेत गरेर २०० भन्दा बढी घरटहरा हटाइएको हो ।

 

  • ४ असार २०८३, बिहीबार १४:५६ प्रकाशित