पोखरा ।
पोखरा बसपार्कमा रहेका सुकुमबासीको पहिचान र उनीहरुको व्यवस्थापनका लागि जग्गा खोजी गर्न गठन भएकोे दुई छुट्टाछुट्टै समितिको म्याद थप गरिएको छ ।
जग्गा खोजी गर्न गठित समितिलाई १० दिन र बास्तविक सुकुमबासी पहिचान गर्न गठित समितिलाई थप १५ दिनको म्याद दिइएको पोखरा महानगरपालिकाले जनाएको छ ।
गठित दुई समितिले जेठ २८ गतेसम्म प्रतिवेदन बुझाउनुपर्नेमा अहिलेसम्म एउटा समितिले मात्रै प्रतिवदेन दिएको र अर्को समितिले प्रतिवेदन नदिएपछि कार्यपालिका बैठकले म्याद थप गरिदिएको महानगरपालिकाले जनाएको छ ।
जग्गा खोजी गरी सिफारिस गर्ने समितिले ६ वटा ठाउँमा सुकुमबासी व्यवस्थापन गर्न सकिने सुझाव दिएकोमा कतिपय जग्गा लालपुर्जामा पर्ने भएपछि नयाँ जग्गा खोजी गर्न कार्यपालिका बैठकले म्याद थप गरिदिएको हो ।
वास्तविक सुकुमबासी पहिचान गर्न बनेको समितिले भने अहिलेसम्म प्रतिवदेन बुझाउन सकेको छैन । तर अहिले थपिएको म्यादभित्र वास्तविक सुकुमबासीको पहिचान गरि सक्ने समिति संयोजक पोखरा महानगरका प्रशासन महाशाखा प्रमुद कृष्णप्रसाद तिवारीले बताएका छन् ।
उनको अनुसार बसपार्क क्षेत्रमा बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले दर्ता गराएका विवरणहरुको छानबिन कार्य तीव्ररुपमा जारी छ ।
हाल सम्म ५ सय ७२ जनाले आफुहरुको कतै पनि जग्गा नभएको भनि निवेदन दिएका छन् । तीमध्ये करिब २ सय ५० वटा विवरण मालपोत कार्यालयको भूमि सूचना व्यवस्थापन प्रणाली र जिल्ला प्रशासनको कार्यालयको प्रणालीमार्फत प्रमाणीकरण भइसकेको तिवारीले बताए ।
तिवारीको अनुसार प्रारम्भिक छानबिनका क्रममा संकलित विवरणमध्ये करिब १० देखि १५ प्रतिशत निवेदकहरुको अन्यत्र पनि जग्गाजमिन रहेको पाइएको छ ।
तिवारीले भने, प्रारम्भिक छानबिनको क्रममा १० देखि १५ प्रतिशत मात्रैको अन्यत्र जग्गा भेटिएको अवस्था छ, बाँकीको भेटिएको छैन, अझै खोजी भइरहेको छ । ’
वास्तविक सुकुमबासी पहिचान गर्ने काम संवेदनशील र समयसापेक्ष भएकाले छानबिन सुक्ष्म हिसाबले नै सुकुमबासीको यकिनको काम भइरहेको उनले बताए ।
जग्गा खोजी गर्न पोखरा वडा १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले यसअघि सिफारिस गरेका ६ वटा सम्भावित स्थानहरुमध्ये केही जग्गामा लालपुर्जा कायम रहेको वा सार्वजनिक स्वामित्वमा अस्पष्टता देखिएकाले थप अध्ययन आवश्यक भएको महानगरले जनाएको छ ।
प्रस्तावित जग्गाको रेखाङ्कन, प्लटिङ र भौतिक संरचना निर्माणको सम्भाव्यता अध्ययन गरिरहेको प्राविधिक समितिको म्याद पनि १० दिन थपिएको छ ।
पोखरा महानगरपालिकाले बसपार्कका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको पनि ६० दिन बितिसकेको छ ।













