काठमाडौं ।
सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताए ।
उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रूपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रूपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।













