काठमाडौं।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे ।
नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए ।
‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलिरहेको छ । अर्थमन्त्री रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिनुहुन्छ, अर्कोतिर मन्त्री नै खुट्टा भाच्ने कुरा गर्नुहुन्छ’, उनले भने, ‘आज दण्डहीनताले प्रश्रय पाइरहेको छ ।’
उनले मन्त्रीले कानुनको कार्यान्वयन गर्नुपर्छ कि पर्दैन भन्दै कहिले टेम्पो जङ्गलमा पाल्ने त कहिले काफल फाल्ने जस्ता काम कारबाही देखिएको भन्दै कानुन कार्यान्वयनमा सरकार नै चुकेको बताए ।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी अव्यवस्थितहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।













