एउटा भैंसीबाट पशुपालन थालेकी हिरा अहिले मासिक २ लाख कमाउँछिन्

५० हजारबाट सुरु लगानी एक करोड रुपैयाँ पुग्यो, ५ जनालाई प्रत्यक्ष रोजगारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १७ विरौटामा हिरा साप्कोटाले ८ वर्ष अगाडि ५० हजार रुपैयाँ लागतमा एउटा दुहुनु भैंसी किनिन् । त्यसबाट सुरु भएको उनको व्यवसायमा अहिले १ करोड रुपैयाँ लगानी पुगेको छ । १५ पुस २०७४ मा ५० हजार रुपैयाँ हालेर उनले दुहुनो भैंसी किनेकी थिइन् । उनले सञ्चालन गरेको इमानी एग्रो प्रालिमा हाल पाडापाडी सहित ५५ वटा भैंसी छन । ती मध्ये २८ वटा माउ भैंसी हुन् । माउ भैंसी मध्ये अहिले २१ वटा भैंसी दुहुना छन् ।

आफ्नो मेहनत, साहस र निरन्तर संघर्षबाट भैंसी पालन व्यवसायलाई सफल उद्यमका रूपमा स्थापित गरेकी उनले आफ्ना कोरिया रहेका श्रीमानलाई समेत घर फर्काएकी छन् । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा रहँदा हिरा सापकोटाले एक्लै भैंसी पालन व्यवसायलाई अगाडि बढाइन् ।

सापकोटाको व्यवसाय विस्तारसँगै दूध उत्पादन पनि बढेको छ र अहिले उनले मासिक करिब दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् । ‘मैले एउटा ५० हजारको भैंसीबाट पशुपालन व्यवसाय थालेकी हुँ । त्यो विस्तार भएर अहिले लगानी नै १ करोडको हाराहारीमा पुगेको छ । मासिक २ लाखको हाराहारीमा आमदानी गर्ने गरेकी छु । सुरुबाटै विदेश रहनुभएका मेरा श्रीमानलाई पनि अबसंगै यहीँ केही गरौं भनेर बोलाए । अहिले संगै बुढाबुढीले काम गछौ’ उनले भनिन् ।

उनले अहिले भैंसीमात्र नभएर लोक्कल कुखुरा र केही बाख्रा समेत पालेकी छन् । आफ्नो पशुपालन व्यवसाय प्रवर्द्धनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीबाट समेत उनले विभिन्न सहयोग प्राप्त गरेको जानकारी दिइन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइले गाईभैंसी जोन कार्यक्रम मार्फत अनुदान दिएको छ । यसले आफूलाई व्यवसाय प्रवद्र्धना सघाउ पुगेको उनले बताइन् । घाँस काट्ने मेसिनलगायत विभिन्न कृषि उपकरणमा अनुदान सहयोग प्राप्त हुँदा काममा सहजता आएको उनको भनाई छ ।

उनको फर्ममा अहिले ३ देखि ५ जनाले दैनिक रोजगारी समेत प्राप्त गरेका छन् । एक भैंसीबाट सुरु भएको सापकोटाको पशुपालन यात्रा आज सफल व्यावसायिक पशुपालनको नमूना बनेको छ ।

  • १ असार २०८३, सोमबार १७:५६ प्रकाशित