गृहमन्त्रीको पुनर्वहालीप्रति कांग्रेसको आपत्ति

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उनलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै कडा आक्रोश व्यक्त गरेका हुन्।

सचेतक परियारले गृहमन्त्री गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नका लागि सरकारलाई सचेत गराए। यसका साथै सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। सरकारले आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने काममा ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।

सरकारको कदमप्रति आपत्ति जनाउँदै उनले बैठकमा भने, ‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराई एउटा बडो शङ्कास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्वहाली गरिएको छ। यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ। तसर्थ त्यो सम्पत्ति छानविन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु।’

  • १ असार २०८३, सोमबार १४:३० प्रकाशित