सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशसहित सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको १ असार भित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान छ ।

सोही नियमलाई पछ्याउँदै सातै वटा प्रदेश सरकारले आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।

प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य , पूर्वाधार र पर्यटन जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् ।

संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् ।  विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् । सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन् ।

 

  • १ असार २०८३, सोमबार ०९:२७ प्रकाशित