काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाँदर आतंक रोक्न राज्यका निकायहरू अभिसम्धी र कानुनका कारणले ती दृश्यबाट विमुख भइरहेका भन्दै यस्तो लाचारी कहिलेसम्म ?’ भनेर सोधेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो सोधेका हुन् ।
जंगली जनावरका कारण किसानले भोगिरहेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने उनको भनाई छ । जंगली जनावरले कृषि बालीमा पुर्याएको क्षति देखाएर किसानहरू आक्रोश र पीडामा रहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको उनले उल्लेख गरेका छन् ।
उनले सोधेका छन्, ‘ यतिबेला किसानहरू जंगली जनावरले पुर्याएको कृषिवालीको क्षति देखाएर रोइरहेको आक्रोश पोखिरहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको छ । तर राज्यका निकायहरू अभिसम्धी र कानुनका कारणले ती दृश्यबाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?’
अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित नभएको उनको भनाइ छ ।
उनले थपेका छन्, ‘बाँदर, बँदेल र दुम्सीको आतङ्कले कृषिकर्ममा आश्रित किसानहरू विस्थापित भइरहेका छन् । प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ, तर मान्छेकै उठिबास लाग्ने गरी होइन१ अब ढिला नगरौँ, सर्वदलीय बैठक बोलाएर एउटा ठोस राष्ट्रिय दृष्टिकोण बनाऔँ ।’ संरक्षण क्षेत्रभित्र संरक्षण गर्नुपर्ने सबै प्रकारका पशुपन्छीको संरक्षणमा विशेष जोड दिनुपर्ने बताए।
‘आवश्यक पर्छ भने संरक्षण क्षेत्र समेत विस्तार गरौँ। तर कृषि क्षेत्रका लागि भिन्न नीति बनाऔँ’ उनले भनेका छन्, ‘कृषि उत्पादन र किसानलाई संरक्षण गरौँ । उनीहरूका लागि पनि संरक्षणकारी नीति र कानून निर्माण गरौँ । अब त निकै ढिला भई सक्यो ।’
यता महासचिव पोखरेलले फेसबुकमा यस्तो स्टाटस लेख्दा अधिकांशले आफू सत्तामा रहँदा किन बाँदर आतंक रोक्न नसकेको र अहिले आएर प्रश्न गरेको भन्दै सोधेका छन् ।












