रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । शुक्रबार सुरु रास्वपा गण्डकीको अधिवेशनमा ४ जना उम्मेदवार रहेकोमा त्रिपाठीले २३४ मत पाएर निर्वाचित भएका हुन् । कुल ७८० अधिवेशन प्रतिनिधी रहे पनि ४३७ जनाले मतदानमा सहभागी भएका थिए ।

त्रिपाठी यसअघि प्रदेश समिति महामन्त्री थिए । सभापति पदमा दोहोरिन चाहेका प्रतिनिधी सभा सांसद राजन गौतमले १८२ मत पाए भने सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत प्रप्त गरे र अर्का उम्मेदवार डा. हरि कार्कीले जम्मा २ मत पाएका थिए ।

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन् ।

रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति पदने सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ । प्रदेश समितिमा सभापतिसहित ३४ जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको भने मतगणना जारी रहेको जनाइएको छ ।

  • ३० जेष्ठ २०८३, शनिबार ०७:२१ प्रकाशित