काठमाडौं।
संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरुको छलफलमा कुरा नमिलेपछि अहिले सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू फेरि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
‘अहिले हामी विपक्षी दल सभामुखसँगको छलफलमा छौँ’, महरले भने, ‘रास्वपा सभापतिसँगको छलफलमा सहमति जुट्न सकेन ।’यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबिच करिब २ घण्टा बढी छलफल भएको थियो ।
लामिछानेसँगको छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए । तर, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट भन्दा पनि परराष्ट्रमन्त्रीले आफ्नै तरिकाले जवाफ दिने बताएका थिए ।
त्यसमा विपक्षीहरू सहमत हुन सकेका छैनन् । जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । २ बजेको बैठक पनि यो समाचार तयार पार्दा सम्म सुरु हुन सकेको छैन ।











