अर्जुनचौपारीको मात्रै नभएर स्याङ्जाकै पहिचान बन्यो नवग्रह मन्दिर

गोविन्द सुवेदी

तस्बिर : अर्जुन काफ्ले/स्याङजा

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिर अहिले स्याङ्जाकै सबैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने स्थल बनेको छ । बिशेषगरी गरी शनिबार खुल्ने सो मन्दिरमा प्रत्यक सनिबार औषतमा पाँच हजारभन्दा धेरै भक्तजन पुग्नेगरेका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । अहिले मलमास परेकाले केही कमि भएपनि प्रत्येक शनिबार थोरैमा पाँच हजार देखि १२ हजारसम्म पर्यटक पुग्ने गरेको उनले बताए ।

अध्यक्ष तिवारीले भने, ‘प्रत्येक सनिबार थोरैमा पाँच हजार देखि १२ हजारसम्म भक्तजन आउनुभएको छ । अहिले जिल्लामै धेरै भक्तजन आउने स्थल बनेको छ । क्रमस भक्तजन बढ्ने क्रम बढ्दो छ । अहिले मलमासको महिनामा समेत भक्तजन आइरहनु भएको छ ।’

अध्यक्ष तिवारीले आफू निर्वाचित भएर आउँदा पालिकालाई चिनाउने आधार नै नभेटेपछि कसरी पालिकाको पहिचान झल्काउने भन्ने हुँदा नवग्रह मन्दिर निर्माण गर्ने तहसम्म सोच अइपुगेको बताउँछन् । नवग्रह मन्दिर निर्माण गर्दा त्यहाँ दर्शन गरेपछि प्राप्त हुने फल विधि, नवग्रहको पूजा गर्ने वास्तविक विधिमा आएको फरकपन लगायतका विषयमा ठूलो अध्यान गरिएको उनले उल्लेख गरेका छन् ।

आफ्नी आमा माला तिवारीले हरेक वर्ष लगाउने नवग्रहको पूजा अनि काठमाडौंमा पूजा गर्दा र स्याङ्जामा पूजा गर्दाको फरकपन उनले महसुस गरिरहेका थिए । सबैजसोले पूजा लागाउने नवग्रहको मन्दिर देशभर कतैपनि नभएको पाइएपछि यसको पूजा विधिको संरक्षण, फल प्रप्तिका लागि गर्नुपर्ने सबै अध्ययन गरेर नवग्रह मन्दिर निर्माणको तहसम्म आइपुगेको उनले प्रष्ट्याए । ‘हामी निर्वाचित भएर आउँदा पुतलीबजार र वालिङको बिचमा पर्छ अर्जुनचौपारी भनेर चिनाउनुपर्ने अवस्था थियो । कसरी पालिकालाई चिनाउने भन्ने भयो । सबैसंग सल्लाह गरेर नयाँ केही गर्नुपर्छ भन्ने भयो । सुरुमा अर्जुनचौपारीको ब्राण्डिङ गर्ने सोच थियो । अहिले जिल्लाकै ब्राण्ड बनेको छ । यसलाई अझै ब्रण्डिङ गर्ने सोचमा छौं’ उनले भने ।

नवग्रहका पुजारी तीलक देवकोटा नवग्रह मन्दिर बनेसँगै मुक्तिनाथ, बागलुङ कालिका, गोर्खा मनकामना जाने धार्मिक पर्यटकहरू समेत अहिले आफ्नो तालिका थप गरेर नवग्रह मन्दिर आउने गरेको जानकारी दिए । उनका विशेष विधिबाट मन्दिर निर्माण गरिएको छ । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।

विशेष पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर पत्रकारको एक समूहसहित नवलपुर हुँदै स्याङ्जाको नवग्रह मन्दिर पुगेका नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङले नवग्रह मन्दिर गण्डकी प्रदेशकै एक विशेष धार्मिक एवं पर्यटकीय प्रोडक्ट बनेको टिप्पणी गर्छन् । आइतबार मन्दिर परिसरमा उनले भने, ‘गण्डकी प्रदेशमा नवग्रह मन्दिर एउटा महत्वपूर्ण धार्मिक एवं पर्यटकीय प्रोडक्ट बनेको छ । यसको अझै व्यापक प्रचारप्रसारको खाँचो छ ।’

गुरुङले नवग्रह मन्दिरको प्रचारप्रसारका लागि पर्यटन बोर्डले काम थालिसकेको बताए । नवग्रह मन्दिरसहितका धार्मिक एवं पर्यटकीय प्रडक्टको प्रचारप्रसारकै लागि विशेष पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर पुगेको उनको भनाई थियो । उनले अबका दिनमा पनि वभिन्न ढंगले प्रचारप्रसारमा सहयोग गर्ने बताए । ‘अहिले जसरी नै पत्रकारको समूह ल्याएर, युट्युबर र कन्टेन क्रियटरलाई ल्याएर र विभिन्न प्रचार प्रसारका तरिका अपनाएर भएपनि यो धार्मिक एवं पर्यटकीय प्रोडक्टको व्यापक प्रचारप्रसार गर्नुपर्छ ’ उनले भने ।

पोखरा पर्यटन परिषदका महासचिव जीवन सापकोटाले पोखराका धार्मिक शक्तिपिठ, मुक्तिनाथ, गोरखाको मनकामना मन्दिरसहित स्याङ्जाको नवग्रह मन्दिर जस्ता धार्मिक एवं पर्यटकीय स्थलहरुको प्याकेज बनाउन सके पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण काम हुने धारणा राखे ।

यस्तो छ, नवग्रह मन्दिर र यसको महत्व

यहाँ आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । पिलरको सबै भन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ भने यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदीको शिलाबाट भारतमा बनाइएको हो । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।

नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग ९सात क्वीन्टल० र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

यस मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), स्ष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिडेर करिब तीनसय मिटर टाढा रहेको बर्षौ देखी पूजा अर्चना गरिदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ । त्यस पश्चात विपरीतबाटो दियो आकारको पूर्वतर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । सौर्यमण्डलिय ब्रमाण्डको मुर्ति भने हरेक बर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।

षट्कोण, नवग्रह तथा यहाँ हिड्ने बाटोमा स्थानीय ढुंगा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।

  • २६ जेष्ठ २०८३, मंगलवार १२:३३ प्रकाशित