पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्वाधार अध्ययन समिति गठन गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।
पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको नगर प्रमुख आचार्यले बताएका छन् ।
गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी,सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत टिकाराम बजगाईं रहेका छन् ।
उक्त समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक क्षेत्र सुनिश्चित गर्ने, व्यवस्थापन गर्न सकिने कुल क्षेत्रफल निर्धारण गर्ने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी ७ दिनभित्र राय, सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिको प्रतिवेदन प्राप्त भएपछि तथ्य, अध्ययन तथा कानुनी प्रक्रियाका आधारमा आवश्यक निर्णय अगाडि बढाइने महानगरले जनाएको छ ।यस्तै पोखरा बसपार्कको उत्तरी क्षेत्रमा बसोबास गरेका जग्गाधनीले पोखरा महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने सहमति भएको मेयर आचार्यले बताएका छन् । रिट निवेदनकर्तासँग भएको छलफलमा बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने तथा भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गर्ने सहमति भएको नगर प्रमुख आचार्यले बताए ।
साथै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले ७ दिनभित्र पूर्ण रूपमा हटाउने सहमति समेत भएको छ। सहमति पछि नगर प्रमुख आचार्यले ५० बर्षदेखि रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको लागि मार्ग प्रशस्त भएको बताएका छन् ।












