काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिए ।
विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन् ।
जेठ १९ गतेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको छ ।











