काठमाडौं।
नेपाल र भारतबिचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।भारत भ्रमणमा रहेका मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा कुनै पनि समस्या समाधान गर्न नसकिने खालको नरहेको स्पष्ट पारेका हुन्।
नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको नयाँ सरकारले भारतलाई २० औँ शताब्दीको भूराजनीतिको जटिल र अतिसंवेदनशील चस्माबाट नहेर्ने बताए। नेपाल अहिले साझा समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उनको भनाइ छ।
तीन दिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग विस्तृत छलफल गरेका थिए। दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको यस भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे हालै दिएको अभिव्यक्तिका कारण केही चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्रीको यो भनाइ आएको हो।
खनालले खुला हृदय, स्पष्ट दृष्टिकोण र नेपालको आर्थिक रूपान्तरणको एउटै पारदर्शी एजेन्डा लिएर भारततर्फ हेरेको उल्लेख गरे। उनले उग्र–राष्ट्रवादी नाराबाजीमा अल्झिनुभन्दा समस्या समाधानका लागि शान्त र तथ्यमा आधारित दृष्टिकोण अपनाउने नीति लिएको प्रष्ट पारे।
भारतको तीव्र आर्थिक प्रगतिको प्रशंसा गर्दै खनालले यसलाई नेपालको आकांक्षाका लागि एउटा नमुनाको रूपमा वर्णन गरे। विश्वमञ्चमा भारत द्रुत गतिमा अघि बढिरहेको प्रविधि र आर्थिक शक्तिको रूपमा स्थापित भएको भन्दै उनले नेपाल यो आधुनिक प्रविधि र तीव्र विकासको गतिसँग जोडिन चाहेको बताए।
विकासमुखी दृष्टिकोण राख्दै उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा दुई देशबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई देशको सम्बन्धलाई भूराजनीतिक टकरावबाट टाढा राखेर विकास र कूटनीतिमा केन्द्रित गर्न चाहेको उनले स्पष्ट पारे।
नेपालमा नयाँ र प्रगतिशील राजनीतिक परिदृश्यको प्रतिनिधित्व गरिरहेको दाबी गर्दै खनालले आफ्नो सरकारको उदय सुशासन, योग्यताप्रणाली र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको जगमा भएको बताए। कागजमा गरिएका पुराना प्रतिज्ञाहरू र जमिनको भौतिक यथार्थबिचको खाडललाई पुरेर नागरिकले महसुस गर्ने गरी काम गर्नु सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरे।
भारतीय समकक्षीसँगको वार्तामा व्यापार, क्रस–बर्डर कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र जनताबीचको सम्बन्धका विषयमा फलदायी छलफल भएको जानकारी उनले दिए। दुई देशबीचको खुला सिमानाले अवरोधको नभई आपसी समृद्धि र कनेक्टिभिटीको पुलको रूपमा काम गर्नुपर्ने उनको धारणा छ।
भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीचको सम्झौताअनुसार क्रस–बर्डर डिजिटल भुक्तानी कारोबारको औपचारिक सुरुवात भएको घोषणा गरिएको छ।
यसले उद्यमी, पर्यटक र सर्वसाधारणलाई युपिआई–शैलीमा सहज डिजिटल कारोबार गर्न सघाउनेछ। यसका साथै भारतीय विकास सहायतामा नेपालमा पुनर्निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रका परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। डिजिटल सार्वजनिक पूर्वाधारका क्षेत्रमा सहकार्य बढाउन काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया मिसनबीच समझदारी पत्र आदानप्रदान भएको छ।
नेपाल र भारत राजनीतिक रेखाले मात्र नभई एउटै नदी, पहाड र प्राचीन ज्ञानले बाँधिएका सभ्यताका सन्तान भएको भन्दै खनालले नयाँ दिल्लीमा पाएको न्यानो स्वागत र सहयोगको भावनाको उच्च प्रशंसा गरे।












