काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो भ्रमण ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरेका छन् ।
भारतको पाँच दिने भ्रमण सकेर र शुक्रबार अपराह्न काठमाडौं फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।
लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको बताए । उनले भने, ‘पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुन्थे, तर यसपटक पारदर्शी रूपमा वार्ता भयो।’
भारतीय अधिकारीहरू र मित्र राष्ट्र ९अमेरिका० का प्रतिनिधिसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको उनले बताए । जसले वार्तालाई अझ खुला र स्पष्ट बनाएको उनले दाबी गरेका छन् ।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई अब नयाँ ढंगले अघि बढाउने प्रयास भएको बताएका छन्। उनले भने, ‘अस्पष्ट, लुकिछिपी र अपारदर्शी सम्बन्धलाई अन्त्य गर्दै हामीले रिसेट गर्ने काम गरेका छौँ।’
नेपालले अब कूटनीतिक विषयलाई सडक, सदन र मिडियाका बहसभन्दा माथि उठाएर संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको रविले बताए ।
उनले नेपाल–भारत सम्बन्धलाई अब राजनीति मात्र होइन, अर्थराजनीतिक दृष्टिकोणबाट अघि बढाइएको बताएका छन्।
भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी र विकास सहकार्यबारे छलफल भएको उल्लेख गर्दै उनले भने, ‘भारतसँग नयाँ चरणको संवाद सुरु भएको छ।’
लामिछानेले आफ्नो एक लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित भएको उल्लेख गर्दै त्यसमार्फत नेपालमा रास्वपाले चाहेको सहकार्य र सहभागिताको दृष्टिकोण प्रस्तुत गरिएको बताए।
भारतसँगको छलफलले आगामी दिनमा लगानी र सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए। लामिछानेले नेपाल–भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी पनि दोहोर्याएका छन् । लामिछानेले भने, ‘यस भ्रमणले पुराना समस्या समाधान गर्ने थालनी गरेको छ।’











